यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलले भिषण आक्रमण
एजेन्सी । यमनको राजधानी साना स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलले भिषण आक्रमण गरेको छ ।
आक्रमणमा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । डब्ल्यु.एच.ओ.ले राष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा परेको जनाएको छ । डब्लु.एच.ओ.का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयसस पनि आक्रमणमा बाँचेका छन् । डब्लु.एच.ओ. प्रमुख र संयुक्त राष्ट्र संघका अन्य कर्मचारी सहितको विमान आक्रमणमा परेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमान चढ्न लागेको समयमा बमबारी भएको र त्यसमा चालक दलका सदस्य घाइते भएका छन् । इजरायली सेनाले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकू जहाजहरुले हूथी समूहको सैन्य क्षेत्र लक्षित गरी अन्तर्राष्ट्रिय विमानस्थल, रस कनातिब ऊर्जा केन्द्र तथा पश्चिमी तटका अल–हुदायदाह, सालिफ र रस कनातिब बन्दरगाहमा आक्रमण गरेको बताएको छ ।
साना विमानस्थलमा आक्रमणका प्रत्यक्षदर्शीहरुले रनवेमा तीन पटक आक्रमण भएको र त्यस पछि विमानस्थलको नियन्त्रण टावर लक्षित बम प्रहार भएको बताएका छन् । आक्रमण पछि इरानले इजरायलले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा उल्लंघन गरेको आरोप लगाएको छ । उता हुथी समूहले इजरायलको राजधानी तेल अभिवलाई लक्षित गरी मिसाइल प्रहार गरेको छ ।
तेल अभिवको आकाशमा आगोका लप्का देखिएको, बम विस्फोटका आवाज सुनिएको र त्यस लगत्तै शहरमा आक्रमणको संकेत गर्ने साइरनहरु बजेको जनाएको छ । क्षतिको विबरण आउन बाँकी रहेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया