रुसद्वारा दुई अमेरिकी कुटनीतिज्ञलाई रुसी नागरिकसँग सम्पर्क कायम गरेको आरोप लगाउँदै देश छाड्न आदेश

काठमाडौ । रुसले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो । दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको हो । अमेरिकाले रुसको निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन । प्रवक्ता मिलरले अमेरिकी कूटनीतिक कर्मचारीलाई अकारण निष्कासनको आदेश दिइएको तथा दूतावासका कर्मचारीलाई मात्र नभइ आफ्नै नागरिकलाई पनि मस्कोले धम्क्याइरहेको बताए । रुसी सञ्चारमाध्यममा सार्वजनिक  भएका समाचार सामग्रीको ‘मिडिया क्लिप’ उपलब्ध गराउने रोबर्ट शोनोभलाई पक्राउ गरिएको जानकारी उनले दिएका छन् । रुसले देश छाडेर जान आदेश दिएका अमेरिकी कूटनीतिज्ञले रुस नछाडेको पनि अमेरिकाले जनाएको छ । वासिङ्टन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला रुसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो ।

प्रतिक्रिया