कसरी पुग्यो जहाजको पाङग्रा राख्ने ठाउँमा मानिसको शव ?
एजेन्सी । क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकाको शिकागोबाट माउईका लागि उडेको युनाइटेड एयरलाइन्सको जहाजकोे पाङग्रा अड्याउने ठाउँमा (ह्वील वेल) मानिसको शव फेला परेको छ ।
अस्ति मङ्गलबार माउको काहुलुई एयरपोर्टमा पुगेपछि सो विमानको मुख्य अवतरण गियरहरू मध्ये एउटाको ह्वील वेलमा एक मानिसको शव फेला परेको थियो । यसबारे हवाईका अधिकारीहरूले अनुसन्धान गरिरहेका सीएनएनले जनाएको छ । उक्त शव बोइङ ७८७–१० विमानमा फेला परेको एयलाइन्सद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । माउमा प्रहरीले थप जानकारीको लागि अनुसन्धान भइरहेको जनाएको छ । माउ पुलिस विभागले शव कसको हो कसरी जहाजको पाङग्रा अडयाउने ठाउँमा पुग्यो भन्नेबारे खोजी गरिरहेको जनाइएको छ ।
विमानको चक्कामा शव कसरी पुग्यो वा व्यक्तिको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन । उता विमानमा गैरकानुनी रुपमा यात्रा गरेको व्यक्ति पनि हुनसक्ने आशंका गरिएको छ । त्यो व्यक्ति कसरी विमानसम्म पुग्यो र कसरी उ विमान उडेपछि पाङग्रा लुकाउने जुन स्थान हुन्छ त्यहाँसम्म पुग्यो भन्ने कुरा अनुसन्धानमै रहेको छ । अमेरिकी
फेडरल एभिएसन एडमिनिस्ट्रेशनले विमानमा गैरकानूनी यात्रा गर्ने प्रयास गर्ने ७७ प्रतिशत भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको जनाएको छ । जब विमान उच्च उचाइमा पुग्छ त्यतिबेला अक्सिजनको स्तर अत्यन्तै कम हुने गर्छ । त्यस्तै उडानको समयमा, हवाइजहाज बाहिरको तापक्रम नाटकीय रूपमा घट्न सक्छ, शून्यभन्दा तल ७५ वा ८० डिग्रीसम्म पुग्न सक्छ, जुन रक्तप्रवाहको लागि अनुकूल हुँदैन। त्यस कारण कसैले थाहा नपाउने गरी गैर कानुनी रुपमा विमानमा यात्रा गर्नेको मृत्यु हुन सक्छ ।
प्रतिक्रिया