विप्लवको ओली लक्षित टिप्पणी : रातो स्कुटर कसले किन्दियो ?
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सर्वोच्च अदालतले सरकारी कामकाजमा जनयुद्ध शब्द नलेख्न भन्दै दिएको आदेशप्रति आपत्ति जनाएका छन् । माओत्सेतुङको जन्मदिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद् पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तिमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ? अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काप्यो कि कापेन ? जनयुद्ध होइन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ?’
उनले गायक प्रकाश सपुतको गीत स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनयुद्धलाई अपमान नगर्न चेतावनी दिए । उनले भने, ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, रातो स्कुटर कसले किन्दियो ? भनेजस्तै केपीजीलाई सोध्नुपर्ने भएको छ । केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ उनले जनयुद्धको उपलब्धिलाई स्वीकार्न नसक्ने भए सबै ताज फुकालेर आफूहरुलाई हस्तान्तरण गर्न चुनौती दिए ।
प्रतिक्रिया