एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं । एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद सिंहले दायर गरेको रिट निवेदन सर्वोच्चले खारेज गरेको हो ।
सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदन सर्वोच्चले खारेज गर्दै केही निर्देशनात्मक आदेश जारी गरेको छ ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको उनले रिटमा दाबी गरेका थिए। साथै उक्त कारोबारलाई मान्यता नदिन उनले सर्वोच्चसँग माग गरेका थिए।
सरकारले गठन गरेको उच्चस्तरीय समितिको सिफारिस तथा प्रचलित नियमविपरित उक्त शेयर खरिद विक्री सम्झौता यथास्थितिमा स्वीकृति दिन नसकिने भनी नेपाल दूरसञ्चार प्राधिकरणबाट मिति २०८० चैत १४ मा निर्णइय भई सो को जानकारी विपक्षी एनसेल आजियाटा लिमिटेलाई गराइसकेको भन्दै अदालतले यसबारेमा थप आदेश आवश्यक नभएको भन्दै रिट खारेज गरेको हो ।
अदालतले रिट खारेज हुने ठहर भएपनि विदेशी लगानी रहेको एनसेलको शेयर संरचनामा पटक पटक परिवर्तन भई शेयरको स्वदेश तथा विदेशमा खरिद विक्री हुँदा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त र नियमनकारी निकायको नियमनका सम्बन्धमा गम्भीर समस्या देखा परेको भन्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।
आगामी दिनमा विदेशी लगानी भएका कम्पनीहरुको सञ्चालन र नियमनमा स्पष्टता तथा प्रभावकातिा अभिवृद्धिको लागि भन्दै इजलासले निर्देशनात्मक आदेश जारी गरहेको हो ।
जसमा शेयरवालाले शेयर खरि विक्री गर्दा समेत प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने स्पष्ट देखिन आएको उल्लेख छ । अदालतले दूरसञ्चार अनुमति पत्रको शर्त अक्षरशः पालना गर्दै पारदर्शी र विधिसम्मत तरिकाले सेवा संचालन गर्न एनसेल आजियाटा लिमिटेडको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
त्यस्तै दूरसन्चार प्राधिकरणको नाममा जारी निर्देशनात्मक आदेशमा एनसेल लगायत सबै शेयरधनी व्यक्तिहरुको कानूनबमोजिम प्रभावकारी नियमन गर्न गराउन भनिएको छ ।
प्रतिक्रिया