पाष्टर भट्टराईलाई पक्राउ गर्नु धर्म निरपेक्षताको उपहास, तीन संघ-संगठनले जनाए विरोध

काठमाडौं । ख्रीष्टमसको अवसरमा शैक्षिक सामाग्री, लुगा, झोला वितरण गरी प्रलोभनमा पारेर धर्मपरिवर्तन गर्न खोजेको आरोपमा कैलाली लम्किचुहा नगरपालिकास्थित लम्की सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनको पक्राउलाई लिएर स्थानीय चर्च, नगर इसाई समाज, लम्किचुहा नगर जवान समिति, नेपाल राष्ट्रिय ईसाई समाज लगायतका स्थानिय धार्मिक संघ संगठनले विरोध गरेका छन् ।

पाष्टर भट्टराईको पक्राउलाई लिएर विभिन्न स्थानिय ख्रीष्टियन संघसंगठनले विरोध र खण्डन गर्दै संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले विगत लामो समयदेखि उपहारको पर्व वडादिन ख्रीष्टमसको अवसरमा, लम्कीचुहा क्षेत्रका विपन्न बालबालिकाहरूलाई शैक्षिक संस्थाको औपचारिक पत्राचार र आग्रहमा शैक्षिक सामग्री र अन्य सहयोग प्रदान गर्दै आएको छौँ । यस कार्यको उद्देश्य मात्र समाजमा आर्थिक रूपमा कमजोर वर्गलाई सहयोग पुर्याउने रहेको छ । तर, यसलाई धार्मिक प्रचारको रूपमा चित्रण गर्नु गलत र भ्रामक छ ।’

नेपाल राष्ट्रिय ईसाई समाजका अध्यक्ष पाष्टर चन्द्र बहादुर थापाले शैक्षिक सामग्री वितरण कार्यक्रममा धार्मिक प्रवचन वा बाइबलको प्रचार नगरेको बताए ।

‘स्थानीय पास्टर जन्मजय भट्टराईमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य र आधारहीन छन् । शैक्षिक सामग्री वितरण कार्यक्रमको क्रममा कुनै पनि धार्मिक प्रवचन वा बाइबलको प्रचार गरिएको छैन’, उनले भने, ‘धार्मिक भावनामा चोट पुर्‍याउने तथा समुदायवीच द्वेष फैलाउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न हामी सबै जिम्मेवार नागरिकलाई आग्रह गर्दछौं ।’

नेपाल ख्रीष्टियन समाजका महासचिव पाष्टर राजेन्द्र मल्लले देश धर्म निरपेक्ष भएकोले आफनो आस्थाको अभ्यास गरेको र बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु कुनै अपराध नभएको जिकिर गरे ।

उनले भने, ‘देश धर्म निरपेक्ष भएकोले सबै ख्रीष्टियनहरुले आफनो आस्थाको अभ्यास गर्न पाउने, प्रचार–प्रचार गर्न पाउने संवैधानिक अधिकार भएकोले ख्रीष्टमस एउटा खुशी र उपहारको पर्व भएकाले सो अवसरमा विपन्न बालबालिका लागि शैक्षिक सामाग्री र झोला वितरण गर्नु कुनै अपराध होइन् ।’

यस्तै, ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका केन्द्रीय महासचिव तथा धार्मिक स्वतन्त्रताका अभियन्ता निरोज तोलाङेले पाष्टर भट्टराईको पक्राउले धर्म निरपेक्षताको उपहास भएको भन्दै विरोध जनाएका छन् । उनले पाष्टर जन्मजय भट्टराईको तत्काल रिहाईको माग गर्दै अल्पसंख्यक धार्मिक समुदायलाई आतंकित नबनाउन र धार्मिक सद्भाव विथोल्ने कार्य नगर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

ख्रीष्टियन समाजले पाष्टर पक्राउलाई लिएर सञ्चारमाध्यमले गलत समाचारहरू प्रकाशित गरेको बताउँदै त्यस्ता समाचारहरुले समाजमा रहेका विभिन्न धार्मिक समुदायहरूबीच द्वेष सिर्जना गर्न सक्ने र बहुसांस्कृतिक समाजको सौहार्दताका लागि हानिकारक हुने बताएको छ । ख्रीष्टियन समाजले सञ्चारमाध्यममा प्रकाशित समाचारमा समुदायको सामाजिक उत्तरदायित्वलाई तोडमोड गरेर धार्मिक कुटता सिर्जना गर्ने प्रयास भएकोप्रति खेद प्रकट गरेको छ । साथै, सञ्चारमाध्यले तथ्यगत र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न ख्रीष्टियन समाजले अनुरोध गरेको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई गलत व्याख्या गर्दै धार्मिक द्वेष फैलाउने प्रयास गरेको छ, भने सम्बन्धित निकायसँग कानूनी रूपमा सहकार्य गर्न तयार रहेको ख्रीष्टियन समाजको प्रतिबद्धता छ । सबैलाई मेलमिलाप, सहिष्णुता, र आपसी सम्मानको भावना विकास गर्न पनि ख्रीष्टियन समाजले आह्वान गरेको छ ।

प्रतिक्रिया