एभिन्यूजको आर्थिक बहस ’एभिन्यूज एजेण्डा’ आज चितवनमा शुरु
काठमाडौ । एभिन्यूज खबरले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा गरिरहेको बहस र अन्तरक्रिया कार्यक्रम आज चौथो दिन चितवनको भरतपुरमा शुरु भएको छ ।
आज एभिन्यूजको टेलिभिजन बहस भरतपुरको चितवनस्थित मिड टाउन होटलमा केहीबेर अघि शुरु भएको हो । “अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाइरहेको होे ।
एभिन्यूजले नेपाली अर्थतन्त्रमा परेको दबाव,प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्रबीच बृहत रुपमा अन्तरक्रिया शुरु गरेको हो । चितवनमा भइरहेको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, अर्थविद् अनल भट्टराई र नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष बीरेन्द्र पाण्डे वक्ताको रुपमा रहेका छन् ।
कार्यक्रममा बिभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छ । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा भने एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका छन् । कार्यक्रममा सहभागीहरुले देशको अर्थतन्त्र सुधार र लयमा ल्याउन गर्नुपर्ने बिभिन्न उपायबारे सरकारलाई एभिन्यूज मार्फत सुझाव दिइरहेका छन् ।
सुदूरपशिचम, कर्णाली र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि एभिन्यूजले आज बागमती प्रदेशमा यो कार्यक्रम आयोजना गरेको हो । बागमतीपछि मधेश प्रदेशको बीरगंजमा पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते कार्यक्रम हुनेछ ।
कार्यक्रम एभिन्यूज खबर टेलिभिजनका साथै एभिन्यूजको यूट्युव र फेसबुक पेज तथा एभिन्यूज डट टिभी,स्थानीय संचार माध्यम र नेपाल एफएममा प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया