खैरहनी महोत्सवमा महको प्रवद्र्धन गरिँदै
चितवन । तेस्रो खैरहनी महोत्सवमा महको प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि शुरु भएको महोत्सवमा महलाई प्रवद्र्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ ।
महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ । मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन् ।
उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताए । भन्छन्, “मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवद्र्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ ।”
महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्तमात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिए । उनका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागू छ ।
यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गितिक प्रस्तुती दिनुहुने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिए । पुस ५ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । रासस
प्रतिक्रिया