भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग
काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा भारतीयले नेपालको झन्डै एक हजार बिघा जमिन कब्जा गरेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुरको दक्षिणी सिमानास्थित सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका हुन । आज एक विज्ञप्ती जारी गर्दै उनले देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा सरकारले नदेखे झैं गरेको आरोप लगाएका हुन । उनले सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाउन पनि माग गरेका छन । आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गर्न पनि उनको सुझाव छ । सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गर्नुपर्ने माग समेत पूर्व प्रधानमन्त्री खनालको छ ।
प्रतिक्रिया