मोजाम्बिकमा निर्वाचनको परिणामपछिको हिंसामा ३३ जनाको मृत्यु
एजेन्सी ।दक्षिणपूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा राष्ट्रपतीय निर्वाचनको परिणामलाई लिएर हिंसा चर्केको छ । विरोध प्रदर्शनको फाइदा उठाउँदै बुधवार राजधानी मापुटोस्थित जेलबाट १५ सयभन्दा बढी कैदी फरार भएका छन । सुरक्षाकर्मीसँग भएको झडपमा ३३ जना मारिएको र १५ जना घाइते भएको प्रहरीले जनाएको छ । सरकार विरोधी प्रदर्शनकारीको समूह जेलमा पुगेको र भित्र रहेका कैदीहरूले मौकाको फाइदा उठाउँदै जेलको भित्ता भत्काएर फरार भएका हुन । भगौडा कैदीमध्ये करिब १ सय ५० जनालाई पुनः गिरफतार गरिएको छ । गत अक्टोबरमा विवादास्पद निर्वाचन भएदेखि नै मोजाम्बिक अशान्त रहँदै आएको छ । निर्वाचनको आधिकारिक परिणामले करिब ५० वर्षदेखि सत्तामा रहँदै आएको फ्रेलिमो पार्टीका उम्मेदवार ड्यानियल चापो विजयी भएको देखाएको छ । विपक्षीहरूले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । संवैधानिक अदालतले चापो नै विजयी भएको निर्णय सुनाएपछि पुनः विरोध प्रदर्शन सुरू भएको हो ।
प्रतिक्रिया