भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो ।
 
जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सव गर्न रु ६१ लख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन् ।  स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताए ।। उनले महानगरपालिकाभित्र एक वर्षमा बाह्य पर्यटक दुई लाख र आन्तरिक १० लाख पर्यटकले यहाँ भ्रमण गरेका बताए । “भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिमा टेवा पुगेको छ । दिगो पर्यटन पूर्वाधार विकास, होटल रेष्टुरेन्टमा सेवा वृद्वि भएकाले पर्यटकको सङ्ख्या, बसाइँ अवधि एवं आर्थिक क्रियाकलापमा समेत वृद्वि भएको छ”, महानगर प्रमुख दाहालले भने ।
 
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताए । स्थानीय जनतामा खाना महोत्सवले थप ऊर्जा मिल्ने उनले बताए ।
 
महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ । महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।
 
मेघौली पश्चिम चितवनको पर्यटकीय गन्तव्य हो । नारायणी र राप्ती नदी किनारमा पर्ने यो ठाउँ सूर्यास्त हेर्नका लागि उपयुक्त गन्तव्य मानिन्छ । पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बाक्लिँदै जाँदा पर्यटकहरू आकर्षित हुने गरेका छन् ।
–––

प्रतिक्रिया