शिक्षा ऐन बनाउन नसक्दा शिक्षा क्षेत्रको समस्या समाधान गर्न सकिएन : अध्यक्ष दाहाल
चितवन । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकूद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
चितवनको कालिका नगरपालिकास्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औं वार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले जुन देशमा गतिलो शिक्षा हुन्न र स्वास्थ्य सुविधाको सही व्यवस्थापन हुँदैन त्यहाँका जनतालाई सभ्य र सबल नागरिक बनाउन गाह्रो हुने बताए ।
‘जुन देशमा शिक्षा छैन, जुन देशका नागरिकलाई स्वास्थ्यको ठीक व्यवस्थापन छैन। खेलकूद र मनोरञ्जनका लागि उचित व्यवस्था गर्न सकिदैन’, अध्यक्ष दाहालले भने, ‘त्यस देशमा सभ्य नागरिक बनाउन गाह्रो हुन्छ ।’
संविधानमा जनताका मौलिक हक अधिकारहरु उल्लेख्य भए पनि व्यवहारिक रुपमा जनताले अनुभूति हुने गरि काम गर्न राज्य चुकिरहेको अध्यक्ष दाहालले बताए ।
लामो समयदेखि संसदमा रहेको शिक्षा ऐन बनाउन नसक्दा नेपालको शिक्षा क्षेत्रमा रहेका थुप्रै समस्याहरु समाधान गर्न नसकिएको भन्दै अध्यक्ष दाहालले ऐन कानुन निर्माणको ढिलाइले नै यी समस्याहरु आएको बताए ।
शिक्षा ऐनजस्तै अरु थुप्रै ऐन कानुनहरु बनाउन बाँकी रहेको भन्दै अध्यक्ष दाहालले राजनीतिक दल, सांसद तथा सरोकारवाला सबै गम्भीर भएर कानुन निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिए ।
बालबालिकालाई विद्यालय जान आफै तयार हुने वातावरण बनाउनु पर्नेतर्फ शिक्षक, अभिभावक र सरोकारवाला सबैले सोच्नुपर्ने अध्यक्ष दाहालले बताए ।
प्रतिक्रिया