सबैसँग छलफल गरेर  संविधान  संशोधनको प्रक्रिया अघि बढ्छ :उपप्रधानमन्त्री सिंह

रुपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै  संविधान  संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।

आज  बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस र एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम  गरिरहेको बताए । उपप्रधानमन्त्री सिंहले आजै रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिञ्चाई योजनाको पनि उदघाटन गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री सिंहले  पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन गराउने   विश्वास व्यक्त गरे ।

देशमा केही भएन भन्ने भाष्य बनाउन खोजिएका बेला सियारी गाउँपालिकाले एउटा नमूना प्रस्तुत गरेको उपप्रधानमन्त्री सिंहको भनाई छ । “पर्यटन करिडोरले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने छ भने लिफ्ट सिञ्चाइले यहाँको कृषि उत्पादन बढाउने र यहाँका कृषकको समृद्धिका लागि योगदान पुग्नेमा विश्वस्त छु ।”उपप्रधानमन्त्री सिंहले भने ।  नागरिकको जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेको काम उदाहरणीय भएको भन्दै सिंहले प्रशंसा समेत गरेका छन् । 

लिफ्ट सिञ्चाई आयोजनाले  १०५ हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा हुनेछ । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकको चाहना अनुसार पालिकाले काम गरिरहेको बताए । त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले कोरोना पछिको धरासायी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारको संकेत देखिन थालेको बताए । मन्त्री सिंहले बजेटमा परेका योजना कार्यन्वयनमा लैजान विधि र प्रक्रियासम्मत रुपमा केही  समय लाग्ने बताए ।
 

प्रतिक्रिया