सिद्धबाबा सुरुङमार्गका ३ वटै बाइपास छिचोलिए
काठमाडौं । ‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग अर्थात बाइपास छिचोलिएको छ ।
दोस्रो सहायक सुरुङ छिचोलिए सँगै आयोजनाको तीन वटै सहायक सुरुङ छिचोल्ने काम सम्पन्न भएको हो । यस अघि नै आयोजनाको पहिलो र तेस्रो बाइपास सुरुङ छिचोलिने काम सम्पन्न भएको थियो । अब मुख्य सुरुङ छिचोल्नमा आयोजनाको ध्यान केन्द्रित हुने आयोजनाले जनाएको छ ।
पहिलो, दोस्रो र तेस्रो बाइपास सुरुङको लम्बाइ क्रमशः १५२ मिटर, १६१ मिटर र १३० मिटर रहेको छ । सुरुङको कुल लम्बाइ मध्ये अब ७५ मिटर मात्र खन्न बाँकी रहेको छ । अहिले सम्म आयोजनाको कुल भौतिक प्रगति ३७ प्रतिशत रहेको छ ।
दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १ दशमलब १२६ किलोमिटर हुने छ । आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।
प्रतिक्रिया