जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
धरान । जाडो याम शुरु भए सँगै यहाँका केही महिलाले भक्का बिक्री शुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।
धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन् र उनले भक्का बेच्न शुरु गरेको चार वर्ष भयो । कात्तिक देखि फागुन सम्म भक्का बिक्री गर्ने गरेको र यसै बाट घरखर्च जुटाउने गरेको उनले सुनाइन् ।
उनले भक्का प्रतिगोटा २० दरले बिक्री गर्छिन् । उनले भनिन्, “भक्का बिक्री बाट दैनिक तीन हजार पाँच सय सम्म आम्दानी हुन्छ, मेहनत अनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उनले हरेक दिन करिब सात के.जी. चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छन् । उनका अनुसार स्थानीयहरु मर्निङ वाक देखि नै भक्का खान झुम्मिन्छन् ।
धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाए । “भक्का पानीको बाफ बाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।”
धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्ष देखि भक्का बेच्दै आएको बताइन् । उनले भनिन्, “जाडो शुरु भए पछि भक्का सँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्ट देखि पश्चिम तर्फको गल्लीमा दिउँसो ३ बजे देखि राति ८ बजे सम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”
चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । शुरुका वर्षमा भक्का प्रतिगोटा ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य २० पुगेको उनले सुनाइन् ।
उनका अनुसार दैनिक औसतमा चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानु भन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उनको भनाइ छ ।
धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाइन् । उनले भनिन्, “जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।” उनका अनुसार दैनिक पाँच के.जी. चामलको भक्का बिक्री भइरहेको छ ।
रासस
प्रतिक्रिया