एभिन्यूज टेलिभिजनको देशको अर्थतन्त्र सुधारबारे एजेण्डा बहस लुम्बिनीमा सम्पन्न

काठमाडौं । एभिन्यूज खबरले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा गर्ने बहस र अन्तरक्रिया कार्यक्रम आज लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न भएको छ ।

“अर्थतन्त्र  तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले  एजेण्डाको रुपमा सातै प्रदेशमा उठाउन लागेको हो । एभिन्यूजले  नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधान बारे सरकारी, सार्वजनिक र नीजि क्षेत्र बीच प्रदेशगत रुपमा बृहत अन्तरक्रिया गरिरहेको हो ।

भैरहवाको लुम्बिनी एम्बुजमेन्ट पार्क एण्ड रिसोर्टमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले थप सक्रियता देखाउनुपर्ने बताए । 

सरकारले लुम्बिनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजे पनि आउने पर्यटकका लागि भौतिक पूर्वाधारदेखि आवश्यक सेवा सुविधाहरु उपलव्ध गराउन नसकेको गुनासो गरे । उनीहरुले निजी क्षेत्रलाई संरक्षण नगरे केही समयमै व्यवसायीहरु समेत विदेश पलाएन हुनुपर्ने अवस्था आउन सक्ने बताए । सहभागीहरुले सरकारले सही ठाउँ पहिचान गरेर लगानी गर्न नसक्दा देशको अर्थतन्त्र धरासाही हुँदै गएको पनि बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकाल, लुम्बिनी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्मा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले लुम्बिनीको उद्योगी व्यवसायीको समस्या औल्याएका थिए । कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

अर्को अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशको चितवनमा पौष ११ गते, मधेश प्रदेशको बीरगंजमा पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते हुनेछ । सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्रसारण हुनेछ ।

प्रतिक्रिया