सिरियामा क्रिसमस ट्री जलाएको विरोधमा प्रदर्शन भड्कियो

एजेन्सी । हामा सहर नजिकै क्रिसमस ट्री (एकप्रकारको रुख) जलाएको विरोधमा सिरियामा विरोध प्रदर्शन भएको छ । 

बन्दुकधारीहरूले मध्य सिरियाको क्रिस्चियन बहुल सहर सुक्लाबियाहको मुख्य ठाउँमा सजाएर राखेको रूखमा आगो लगाएका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भिडियोमा मास्क लगाएका दुइजना ब्यक्तिले क्रिसमस ट्री मा आगो लगाएका देखाइएको छ । राष्ट्रपति बसर अल–असदलाई सत्ताच्युत गर्ने विद्रोहको नेतृत्व गर्ने मुख्य इस्लामवादी संगठनले आगजनीमा  विदेशी लडाकुहरू संलग्न रहेको जनाएको छ ।  उनीहरूलाई हिरासतमा राखिएको बताइएको छ।

मुस्लिम बाहुल्यता रहेको सिरियामा धार्मिक अल्पसंख्यकहरूको सुरक्षाको माग गर्दै हजारौं प्रदर्शनकारीहरू देशभर सडकमा उत्रिएका छन् । सिरियाका क्रिस्चियनहरूले क्रिसमसको पूर्वसन्ध्या (क्रिसमस इभ) मनाउन तयारी गरेको बेला सो क्रिसमस ट्रीमा आगो लगाइएको हो । सिरियाली नयाँ सरकारले भने क्रिसमस ट्रीको मर्मत तत्काल गर्ने जनाएको छ । प्रदर्शनमा उत्रिएकाहरुले सिरियामा विदेशी लडाकुहरू विरुद्ध नारा लगाएका थिए । 

राजधानी दमास्कसको बाब टौमा प्रदर्शनकारीहरूले क्रस र सिरियाली झण्डा बोकेका थिए, “हामी हाम्रो क्रसको लागि हाम्रो प्राण त्याग गर्नेछौं“ भन्ने नारा उनीहरुले लगाएका थिए।

सिरिया धेरै जातीय र धार्मिक समूहहरूको रहेका छन्, जसमा कुर्दहरू, अर्मेनियालीहरू, अश्शूरहरू, इसाईहरू, ड्रुज, अलावाइट शिया र अरब सुन्नीहरू समावेश छन्, जसमध्ये मुस्लिम जनसंख्याको बहुमत छ।
 

प्रतिक्रिया