धनगढी–दिपायल सडकमा पुल निर्माण गर्न बजेट अभाव
कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ ।
धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।
उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो । पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए ।
आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि चार करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न ३ करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
यसैगरी, कालाखोल–लामगाडा पुल ४ करोड पाँच लाख, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः ५ करोड १९ लाख तथा चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए ।
आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०÷\१ मा ४०\४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१\८२ मा ८०\८० लाखका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनी बताउँछन् ।
धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ, भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया