लेखा समिति सभापतिले फरार भनिएकी श्रीमतीको बिदा थपको पत्र विद्यालयमा पठाएपछि...
विराटनगर । मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् ऋषिकेश पोखरेलले पठाएको विषय सतहमा आएको छ ।
संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन् । कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।
उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा शुक्रबार सकिएको थियो । त्यसपछि ऋषिकेश पोखरेलले बिदा थपका लागि अञ्जला कोइरालाको पत्र पठाएको विशेष स्रोतले जानकारी दिएको छ ।
यो मुद्दामा प्रतिवादी बनाइएका रोशन राजवंशी भने थुनामा छन् । धनपालथान गाउँपालिका– ४ का पूर्वअध्यक्ष राजवंशी आफैं पीडित भएको भन्दै प्रहरी कार्यालयमा हाजिर भएका थिए । आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख रुपैयाँ दिएर बाँकी अध्यक्ष रौनियारले प्रयोग गरेको राजवशीको गुनासो छ ।
सहकारीका लागि भन्दै निकालेको ऋण रौनियारले नतिरेपछि आफू समस्यामा परेको भन्दै प्रहरीमा हाजिर भएका उनलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको थियो । अन्य २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत मोरङले फरार रहेका २५ जनाविरुद्ध समाह्वान (फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्तलाई अदालतबाट पठाउने पुर्जी) जारी गरेको थियो ।
पूर्जी जारी भएपछि गत सोमबार सांसद पत्नी कोइरालाले ५ दिनको बिदा लिएकी थिइन् । सो बिदा शुक्रबार सकिएपछि सांसद पोखरेलले नै स्कुलमा श्रीमतीको नामको निवेदन पठाइदिएका थिए ।
प्रतिक्रिया