संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको  आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । अहिले नेम्वाङको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा राखिएको छ । आर्यघाट पुगेर नेम्वाङको पार्थिब शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । त्यसैगरी, नेम्वाङलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुख, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रमुख, शुभेच्छुक र सर्वसाधारण पशुपति पुगेका छन् । बालुवाटारस्थित निवासवाट शवयात्रा गरेर नेम्वाङको शव पशुपति पु¥याइएको हो । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । सो क्रममा सेनाको एक टुकडीले राष्ट्रिय सम्मान स्वरूप अन्तिम सलामी दिनेछ । संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको हो । सरकारले उनको अन्त्येष्टि हुने दिन आज सार्वजनिक बिदा समेत दिएको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान साढे १ बजे निधन भएको थियो । श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर मंगलवार पार्टी कार्यालय र बुधबार बालुवाटारस्थित घरमा राखिएको थियो ।

प्रतिक्रिया