उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । भ्लादिभोस्तक शहरवाट करिब एक हजार किलोमिटर टाढा रहेको केन्द्रमा आज दुई नेताविच भेट भएको हो । नेता किमलाई कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने  भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका हुन । सो क्रममा नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । यसले उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएको उनले उल्लेख गरेका छन । यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय जगतले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने यसअघि सञ्चारकर्मीलाई बताइसकेका छन । नेता किमका साथ कोरियाली पीपुल्स आर्मी मार्शल पाक जोङ चोन र युद्धक पदार्थ उद्योग विभागका निर्देशक जो चुन र्योङलगायत उच्च सैन्य अधिकारीहरू समेत रहेका छन । युक्रेनविरुद्धको युद्धमा  रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेकाले उत्तर कोरियासँग खरिद गर्ने तयारी रुसको छ । उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दुरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । 
 

प्रतिक्रिया