रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
रामेछाप । जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । बागमती प्रदेश सरकारले सहयोगमा सञ्चालित कार्यक्रम बाट विशेष गरेर किशोरी धेरै लाभाविन्वत भएका छन् ।
मन्थली मा.वि. कक्षा–९ की छात्रा सृष्टि तामाङले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आफूहरू जस्ता किशोरीलाई बरदान बनेको बताइन् । सृष्टि जस्तै रामेछाप नगरपालिका–८ स्थित शारदा संस्कृत मा.वि.मा अध्ययनरत सोनिका कार्की र रोजिना शाही पनि आफूहरू महिनावारी भएका बेलामा विद्यालय नर्सले दिने स्यानिटरी प्याड र त्यसबेला दुख्ने गरेको तल्लोपेटको उपचारका कारण आफूहरूलाई त्यस अवधिमा विद्यालय जान कुनै अप्ठेरो नभएको बताउँछन् । उनीहरू यस अघि महिनावारी भएका बेला विद्यालय जाने गरेका थिएनन् ।
किशोरी छात्राहरू महिनावारी हुँदा विद्यालय नआउने, आए पनि बीचैमा कक्षा छाडेर घर जाने गरेका थिए । तर, यो कार्यक्रम लागू भए पछि विद्यालय नर्स कार्यक्रम पछि छात्राहरूको कक्षामा नियमित उपस्थिति दर पनि बढेका शारदा संस्कृत मा.वि. बावियाखर्कका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले बताए ।
कार्यक्रम लागू भएपछि विद्यार्थीको स्वास्थ्योपचारमा सहज हुनुका साथै विद्यार्थीको उपस्थिति दर पनि बढेकामा जिल्लाका शिक्षक खुसी छन् । दुई हजार भन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा एक जना नर्सले भ्याउन मुस्किल भएकाले दुई जनासम्म भइदिए अझ सहज हुने अर्का प्रधानाध्यापक टङ्कप्रसाद दाहाल बताउछन् ।
विद्यालय र विद्यार्थीको सरसफाइ एवं विद्यालयमा ‘जङ्क फुड’को अन्त्य लगायत बारेमा विद्यालय नर्सले विद्यार्थी र अभिभावकलाई जानकारी गराउने, सामान्य चोटपटक तथा अन्य आकस्मिक बिरामी हुँदा उपचार गर्न सहज हुने भएकाले विद्यालयमा यो कार्यक्रम प्रभावकारी भएको रुद्राक्षेश्वर मा.वि. मुगिटारका प्रधानाध्यक हर्कबहादुर भुजेलले बताए ।
प्रदेश सरकारले जारी गरेको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ अनुसार जिल्लाका प्लस टु सञ्चालन गरेका विद्यालयमा यो सेवा उपलब्ध गराउने प्रावधान भए पनि जिल्लाका सबै विद्यालयमा यो सेवा उपलब्ध भइसकेको छैन । केही विद्यालयमा कार्यक्रम लागू भए पनि नर्सहरूको दरबन्दी खाली हुँदा कार्यक्रम लागू भए पनि सेवा प्रवाहमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
जिल्लामा ९३ माध्यामिक तहका सामुदायिक विद्यालय मध्ये ४६ विद्यालयमा मात्र यो कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । उनले भने, “यो कार्यक्रमले विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकलाई पनि आवश्यक स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।”
उपचारका लागि र आकस्मिक रूपमा चोटपटक लाग्दा गाउँ बाट टाढा रहेको स्वास्थ्यचौकी सम्म पुग्नुपर्ने समस्या हटेर नजिकैको माध्यामिक विद्यालयमा जाँदा पनि सामान्य उपचार सेवा प्राप्त हुने भएकाले आफू जस्ता अभिभावकका लागि यो कार्यक्रम निकै उपयोगी भएको मन्थली नगरपालिका–७ भटौलीका कृष्ण कार्की बताउए ।
प्रदेश सरकार मार्फत लागू भएको यो कार्यक्रमले नगरको बालमैत्री नगर घोषणाका लागि आवश्यक स्वास्थ्य तथा सरसफाइका लागि निकै उपयोगी भएको र आफू कार्यरत विद्यालयमा पनि छात्रको तुलनामा सेवा लिन छात्रा नै बढी आउने गरेको शारदा संस्कृत माविकी स्टाफ नर्स श्रेस्ता दाहालले बताए ।
रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्त सम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए ।
रामेछाप र मन्थली नगरपालिकाको सात–सातवटा सामुदायिक विद्यालय, लिखु तामाकोशी गाउँपालिकाका छ वटा विद्यालय, खाँडादेवी गाउँपालिकाका आठवटा विद्यालय, सुनापति गाउँपालकाका सात, गोकुलगङ्गाका पाँच, दोरम्बा शैलुङका चार र उमाकुण्डका तीन गरी ४६ विद्यालमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भइरहेको एकाइका प्राविधिक सहायक दिनेश नेपालीले बताए । जिल्लामा ५३ वटा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन भए पनि सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको छैन ।
गुणस्तरीय पठनपाठनको अभावमा आफूहरूको आकर्षण सामुदायिक विद्यालयमा नभएको मन्थली नगरपालिका–१ का स्थानीय अभिभावक नारायण बस्नेत बताउछन् । विद्यार्थी आकर्षण गर्न प्रदेश सरकारले विद्यालयमा दिवा खाजाको कार्यक्रम पनि ल्याएको छ । तर कक्षा ५ सम्म मात्र प्रतिविद्यार्थी १५ का दरले खाजाको रकम निकासा हुने भएपछि उक्त रकमले गुणस्तरीय खाजाको व्यवस्था गर्न समस्या भइरहेको नागकन्या मावि मन्थलीकी प्रधानाध्यापक सुमित्रा (खड्का) कार्की बताउछिन् ।
गत वर्ष कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरिएको भए पनि यस वर्ष देखि कक्षा अपग्रेड गरी कक्षा ७ सम्म गर्नुपर्ने भए पनि कक्षा घटाएर कक्षा ५ सम्ममा झारेको र खाजाका लागि १५ रकम असाध्यै थोरै भएको प्रति अभिभावकको गुनासो छ । तर, सबै माध्यामिक तहका सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम र आधारभूत तह (कक्षा १–८)सम्म विद्यार्थीलाई दिवा खाजाको कार्यक्रम सबै विद्यालयमा लैजान सके अभिभावकको सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि भई विद्यार्थी सङ्ख्या समेत बढाउन सकिने मन्थली मा.वि.का पूर्वप्रअ गुञ्जबहादुर श्रेष्ठ बताउछन् ।
रासस
प्रतिक्रिया