तरकारीखेतीको आम्दानी बाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्ष देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। उनले तरकारीखेती बाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
“आज भोलि तरकारी टिप्ने, बजार सम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबै जना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गरेका पबितारले भने, “वर्षको तीन याम सम्म तरकारी लाउने गरेको छु । यस बाट वार्षिक एक–डेढ लाख आम्दानी हुने गरेको छ ।” उनले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताए ।
पबितारले यस वर्ष मात्र दुई क्विन्टल काउली बाट मात्र ६० हजार आम्दानी गरे भने अहिले खेतमा गोलभेँडा लगाएका छन् । उनी जस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आएका छन् । तरकारीखेतीको आम्दानी बाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए । गोलभेँडा, काउली, झिङ्नी, बोडी लगायत तरकारी लगाउने गरेको उनले जानकारी दिए।
पबितार, चलितर जस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेती बाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय निकाय बाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् ।
यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेती तर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो । किसानलाई खेती सम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताए । उनले नगरपालिका सँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए ।
किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ । तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रासस
प्रतिक्रिया