हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित
हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि राति देखि हिमपात शुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।
यहाँ दुई इञ्च सम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिका सहित उच्च भेगमा एक फिट सम्म हिउँ जमेको छ । जिल्लामा हिमपात सँगै चिसो अत्यधिक बढेको छ ।
चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिका लगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
रासस
प्रतिक्रिया