एभिन्यूज टेलिभिजनको देशको अर्थतन्त्र सुधार बारे एजेण्डा बहस आज लुम्बिनी प्रदेशमा

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा शुरु गरेको बहस र अन्तरक्रिया कार्यक्रम तेस्रो दिन आज (मंगलबार) लुम्विनी प्रदेशको भैरहवामा हुँदैछ । 

पौष ५ गते सुदूर पश्चिम प्रदेशको धनगढीबाट शुरु भएको कार्यक्रम पौष ७ गते कर्णाली प्रदेशमा भएको थियो । कर्णाली प्रदेशको कार्यक्रम भने बिशेष कारणले बाँकेको नेपालगञ्जमा भएको थियो । आज एभिन्यूजको टेलिभिजन बहस लुम्बिनी एम्बुजमेन्ट पार्क एण्ड रिसोर्टमा दिउँसो १ बजे बाट शुरु हुनेछ । 


“अर्थतन्त्र  तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाइरहेको हो । 

एभिन्यूजले  नेपाली अर्थतन्त्रमा परेको दबाव,प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया शुरु गरेको हो । भैरहवामा हुने  कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, पूर्व अर्थ सचिव रामेश्वर खनाल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह,नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ वक्ताको रुपमा रहेका छन् ।

कार्यक्रममा  बिभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा भने एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका छन् । कार्यक्रममा सहभागीहरुले देशको अर्थतन्त्र सुधार र लयमा ल्याउन गर्नुपर्ने बिभिन्न उपाय बारे सरकारलाई एभिन्यूज मार्फत सुझाव दिइरहेका छन् ।
 
सो अन्तरक्रिया कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहने एभिन्यूजले जनाएको छ । कार्यक्रम भैरहवा स्थित लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्टमा दिउँसो १ बजे बाट शुरु हुनेछ । 

सुदूरपशिचम, कर्णाली र लुम्बिनी प्रदेश पछि एभिन्यूजले बागमती प्रदेशको चितवनमा पौष ११ गते, मधेश प्रदेशको बीरगंजमा  पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते  कार्यक्रम गर्नेछ । 

कार्यक्रम एभिन्यूज खबर टेलिभिजनका साथै एभिन्यूजको यूट्युव र फेसबुक पेज तथा एभिन्यूज डट टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ । 

प्रतिक्रिया