एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटारमा, मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौ । दिवंगत नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर काठमाडौं बालुवाटारस्थित घरमा लगिएको छ । ललितपुरको च्यासलमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई आज दिउसो घरमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । दिवंगत नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेम्वाङका जेठा छोरा मेङ्सो केही समय पहिले नेपाल आइपुगेका हुन् । यसअघि उनका छोरा सुहाङ नेपाल आइसकेका थिए ।श्रद्धाञ्जली अर्पण गर्नका लागि पार्थिव शरीर हिजो दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो । नेम्वाङको अन्त्येष्टि भोलि बिहीवार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपतिमा गरिने भएको छ । नेम्वाङप्रति सम्मान प्रकट गर्न सरकारले भोली सार्वजनिक विदा समेत दिएको छ । प्र्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । उनलाई मंगलबार बिहान एक बजेर पचास मिनेटमा त्रिवि शिक्षण अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया