जनकपुरका क्रिकेट समर्थक माथि कुटपिट नभएको प्रहरीको निष्कर्ष
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर नश्लीय र साम्प्रदायिक व्यवहार गरेको भनिएका युवक अमनकुमार सिंहमाथि कुटपिट नभएको प्रहरीको निष्कर्ष छ ।
भिडले कुटपिट र लछारपछार गर्दा अमनको दुवै हात भाँचिएको भनेर मधेसी आयोगमा उजुरी परेपछि आयोगले छानबिन गर्न भनेको छ । तर, प्रारम्भिक छानबिन गर्दा अमन कुमार सिंंह खेल सकिनुअघि नै अस्पतालमा भर्ना भएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
अस्पतालको रेकर्ड अनुसार शनिबार २ बजेर १२ मिनेटमा उनी ट्रमा सेन्टरमा भर्ना भएको देखिएको छ । त्यसबेला फाइनल खेल सकिएको थिएन । सर्लाहीको बलरा घर भएका अमन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
क्रिकेट मैदान बाहिर हुलदङ्गा भएको र त्यहाँ अमन घाइते भएको परिवारको जिकिर छ । तर, अमन लडेर घाइते भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । उनीहरूले जनकपुर बोल्ट्सका समर्थकहरूलाई नश्लीय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया