पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो: प्रथम राष्ट्रपति यादव
काठमाडौ प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा आयोजित अन्तरक्रियामा उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।
“पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन । नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ”, प्रथम राष्ट्रपति डा यादवले भने, “आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।”
पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी चरित्रको संविधान बनेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने उल्लेख गरे ।
एक अर्को प्रसङ्गमा प्रथम राष्ट्रपति डा यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको सुनाए । उनले संविधानको सफल कार्यान्वयनका लागि सानातिना गुनासालाई सम्बोधन गरेर सचेतनापूर्वक अगाडि बढ्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया