लिबियामा ड्यानियल आँधीपछिको बाढीमा परेर मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो, ७ हजार घाइते, १० हजार नागरिक बेपत्ता

काठमाडौ । पूर्वी लिबियामा समुद्री आँधी ‘ड्यानियल’ले निम्त्याएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । अधिकारीहरुका अनुसार बाढीमा परी दश हजार मानिस बेपत्ता भएका छन् । त्यस्तै सात हजार भन्दा बढी घाइते भएका छन । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । सरकारका आन्तरिक मामिलामन्त्रीले पाँच हजार तीन सय मानिसको मृत्यु भएको बताएका हुन् । यद्यपी यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेर्नाको एम्बुलेन्स सञ्चालन अधिकारीहरुले कम्तीमा २ हजार ३ सय मानिसको मृत्यु भएको बताएका छन । एक हजारभन्दा बढी शव संकलन गरिएको र कम्तीमा सात सय जनाको अन्त्येष्टि गरिएको छ । शवहरुलाई सामूहिक चिहानमा गाडिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी तटीय सहर डेर्ना बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको छ । समुद्री आँधीका कारण आएको भारी वर्षाले दुई वटा बाँध भत्काएपछि अनियन्त्रित बाढी सहरमा पसेको हो । पूर्वी तटीय क्षेत्रमा आइतबार ठोक्किएको आँधीका कारण बेन्गाजी, सोसा र अल मर्ज सहर प्रभावित बनेका छन् । पूर्वी क्षेत्रका साथै पश्चिमी सहर मिस्राता पनि बाढीबाट प्रभावित भएको छ । राष्ट्रसंघीय मानवीय सहायता कार्यालयले खोजी तथा उद्धार सहयोगका लागि आपतकालीन टोली परिचालिन गरेको जनाएको छ । अमेरिका, जर्मनी, इरान, इटली, कतार, इजिप्ट र टर्की लगायतका देशले उद्धार तथा राहतका लागि सहयोग पठाउने तयारी गरेका छन् । उद्धार तथा खोजी कार्यमा सघाउन इजिप्ट र टर्कीको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ । २०११ मा भएको विद्रोहले लामो समयदेखि शासन गर्दै आएका मुअम्मर गद्दाफीलाई पदच्यूत गर्नुका साथै हत्या गरेयता लिबिया अशान्त रहँदै आएको छ । हाल राजधानी ट्रिपोली र पूर्वी क्षेत्रमा गरी देशमा दुई वटा सरकार अस्तित्वमा छन् ।
 

प्रतिक्रिया