एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य स्वास्थ्य बिमाबाट बञ्चित

गण्डकी । विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् ।

 निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् । 

एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलका अनुसार बागलुङमा कूल दुई सय आठजना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन ।निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् । 
बिमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् ।

सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकाय मार्फत एचआईभी सङ्क्रमितको बिमा गरिदिने व्यवस्था गर्नुपर्ने बताए । 

यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बिमा हुन छाडेको छ । 

धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रासस
 

प्रतिक्रिया