सांसदद्वारा सुपारी निकासी प्रवर्द्धनमा जोड
काठमाडौं । सांसदहरुले सुपारीखेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् ।
सोमबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरुले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट रु १० अर्बको राजस्व सङ्कलन भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउनसक्ने धारणा राखेका थिए ।
समितिकी सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुुपर्नेमा जोड दिएकी थिइन् ।
सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताएका थिए । सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिएकी थिइन् । सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डिएन परीक्षणका लागि ल्याव स्थापना गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । विश्वकर्माले सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने धारणा राखेका थिए ।
सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताएका थिए । सांसद डा. अञ्जान शाक्यले सुपारीको डिएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताएकी थिइन्। सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल आवश्यक भएको बताएका थिए ।
सांसद सावित्री मल्लले सुपारी उत्पादन चारवटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्रथामिकता दिन आवश्यक भएको बताएकी थिइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डिएन टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताएका थिए ।
रासस
प्रतिक्रिया