गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखेका थिए । गृहमन्त्री लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो सङ्ख्यामा घट्ने बिश्वास व्यक्त गरे।
आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्याङ्कन गर्न गृहमन्त्री लेखकले निर्देशन पनि दिएका छन् । “तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो । कति जनालाई मानसिक स्वास्थ्य विभागले मनोपरामर्श दियो । हामीले कति मान्छेलाई जोगाउन सक्यौँ भनेर आवधिक रुपमा मूल्याङ्कन गर्नुपर्छ,” उनले भने ।
विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौँ बाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दूरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ” कुँवरले भने ।
रासस
प्रतिक्रिया