विद्यालय शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता, नयाँ खुल्ने निजी विद्यालय अनिवार्य गुठीमा दर्ता हुनुपर्ने व्यवस्था
काठमाडौ । सरकारले शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न संशोधनसहित विधेयक आज संसद सचिवालयमा दर्ता भएको हो । विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ खुल्ने निजी विद्यालय शैक्षिक गुठीमा दर्ता गर्ने प्रस्ताव गरेको छ । सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न चाहेमा स्थानीय तहमा दर्ता गरी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत विद्यालय स्थापना र सञ्चालन गर्न सक्ने प्रस्ताव विधेयकमा गरिएको छ । अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधान ऐनमा छ । निजी गुठीका रूपमा सञ्चालित विद्यालय सार्वजनिक शैक्षिक गुठीका रूपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने पनि विधेयकमा प्रस्ताव गरिएको छ । शैक्षिक गुठीमा रुपान्तरण हुने विद्यालयलाई प्रोत्साहन गर्न आवश्यक छुट तथा सुविधा दिन सकिने प्रावधान विधेयकमा राखिएको छ । विद्यालयको स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकिए बमोजिमको धरौटी माग गर्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरिएको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ । त्यस्तै ऐनमा माध्यामिक तहमा अध्यापन गराउने शिक्षकले अनिवार्य रुपमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले विद्यालय तहमा ४६ हजार दरबन्दी थप गर्ने प्रस्ताव पनि गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत राहत, प्राविधिक धार र अनुदानमा कार्यरत शिक्षकलाई स्थायी परीक्षामा सहभागी हुन उमेरहद नलाग्ने व्यवस्था विधेयकमा गरिएको छ । यसअघि साउन १६ गते पेश गरिएको विधेयकमा निजी विद्यालय अनिवार्य गुठीमा जानु पर्ने प्रावधान राखिएपछि नीजि विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका थिए । सरकारले दवाव झेल्न नसकेर विधेयक संसोधन गरेर पुनः संसदमा दर्ता गरेको हो ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया