दामनका महिलाहरु स्वरोजगार बन्नका लागि अल्लोको कपडा बनाउन ब्यस्त

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित दामनका महिलाहरु स्वरोजगार बन्नका लागि अल्लोको कपडा बनाउन ब्यस्त भएका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्न् दामनका महिलाको बार्षिक कार्यतालिका जस्तै भएको छ ।

लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आएका महिलाहरुले केही वर्ष अगाडि दामन महिला अल्लो ह्याण्डीक्राफ्ट उद्योग दर्ता गरेर व्यवसायीक रुपमा समूहमा काम गर्न शुरु गरेका हुन् । तरकारी खेतीका लागि पकेट क्षेत्र मानिने थाहा नगरमा खेतिपाती राम्रो भए पनि जग्गा नहुने वा थोरै हुनेहरुले स्वरोजगार बन्नका लागि ब्यबसायिक रुपमा नै अल्लोको कपडा उत्पादन शुरु गरेका हुन् ।

महिलाहरुको समूह यतिबेला त्यस क्षेत्रको जङगलमा पाईने सिस्नो प्रजातीको अल्लो टिप्न चुट्न अनि बुन्न ब्यस्त छन् । बर्षमा ३ महिना खेतीपाती र बाँकी समय कपडा बुन्नमा खर्चिने उनीहरुको भनाइ छ । सुरुवाती दिनमा निकै नै संघर्ष गरेपनि अहिले राम्रो आम्दानी भइरहेको उनीहरुको भनाइ छ ।

थाहा नगरपालिकाले पनि महिलाहरुले संचालन गर्दै आएको उद्योगको स्तरोन्नतीका लागि सहयोग गर्ने गरेको छ । महिलाहरुको समुहले ऋषेश्वर सामुदायिक वनमा असाध्यै छ्याप छ्याप्ति पाइने अल्लोलाई प्रशोधन गरेर रेशा निकाली बजारमा रुचाइने आकर्षक किसिमका डिजाइनमा तयार पारिएको कपडा बिदेशीको लागी कोशेलीदेखी मेला महोत्सबहरुमा आकर्षण समेत बन्ने गरेको छ ।

प्रतिक्रिया