सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ ।  आज अदालत खुलेपछि मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुने छ । बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिने छ ।

आइतबार लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा  २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ  तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको छ । यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।  

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।  लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने  सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।  गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की सहित रूपन्देही, काठमाडौं र पर्सामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया