नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय, एमालेले देशभरका पार्टी कार्यालयमा तीन दिन आधा झण्डा झुकाउने

काठमाडौ । सरकारले स्वर्गीय संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मान  प्रदान गर्ने निर्णय गरेको हो । सरकारले संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो । 
मन्त्रिपरिषदले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ । नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।
नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टीको देशभरका सबै कार्यालयहरुका झण्डा आधा झुकाउने भएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले झण्डा झुकाउनुका साथै पार्टी केन्द्रिय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र उहाँको निर्वाचन क्षेत्र इलाममा पनि शोक पुस्तिका राख्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीका सबै जनसंगठनहरुको औपचारिक कार्यक्रम समेत ३ दिनसम्म स्थगित गर्ने र नेम्वाङ्गको सम्मानमा आगामी असोज २ गते एमालेले विशेष श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
स्वर्गीय नेम्वाङले मुलुकको संविधान निर्माणका लागि उनले खेलेको भूमिका नेपालको इतिहासमा अमिट रहेको एमालेको निस्कर्ष छ । 
सभामुखको रुपमा, पार्टी उपाध्यक्षको रुपमा, संसदीय दलको उपनेताको रुपमा, असाध्यै कुशल सांसदको रुपमा नेम्वाङले आफ्नो भूमिका निर्वाह गरेको एमाले सचिवालय बैठकले ठहर गरेको हो । एमालेले पार्टीका उपाध्यक्ष नेम्वाङलाई सर्वाधिक लोकप्रिय, सरल, मृदुभाषी, कुशल समन्वयकारी नेताको रुपमा चित्रण गरेको छ ।

प्रतिक्रिया