कांग्रेस एमालेको सरकार २०८४ सम्म तलमाथि हुँदैन : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आइतबार आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने दाबी गरे ।
दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल नहुने , मन्त्री गुरुङले बताए । विभिन्न क्षेत्रमा बिगँ्रदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री गुरुङले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउन समेत सफल भएको स्पष्ट पारे ।
मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरुप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको प्रसङ्ग मन्त्री गुरुङले उल्लेख गरे ।
राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रष्ट पार्दै गुरुङले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागि परेको बताए । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाएका छन् ।
रासस
प्रतिक्रिया