एभिन्यूजको देशको अर्थतन्त्र सुधार टेलिभिजन बहसको दोस्रो दिन : सम्पन्न कर्णालीलाई सरकारलेनै पछि पार्यो
बाँके । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्थाबारे सातै प्रदेशमा गरिरहेको बहस र अन्तरक्रियाको दोस्रो कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ ।
गत शुक्रबार पहिलो कार्यक्रम अन्तर्गत सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको थियो । कर्णाली प्रदेशको कार्यक्रम भने बिशेष कारण बाँकेको नेपालगञ्जमा भएको हो ।
“अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाइरहेको हो । एभिन्यूजले नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधान बारे सरकारी, सार्वजनिक र नीजि क्षेत्र बीच प्रदेशगत रुपमा बृहत अन्तरक्रिया गरिरहेको हो । नेपालगञ्जको होटल स्टारलाइटमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कर्णालीको जडिबुटी लगायतका उत्पादन निर्यात र प्रवद्र्धनका लागि पूर्वाधारको विकास गर्न माग गरेका छन् ।
उद्योगी व्यवसायीहरुले आफूहरुले भोग्नु परेका समस्याहरु अवगत गराउँदै सरकारको कर लगायतका नीति उत्पादनमुखी हुुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले सञ्चालित उद्योगमा राजनीतिकीकरण बढेको भन्दै तिनलाई नियमन गर्ने निकाय सक्रिय नहुँदा यसको सिधा असर अर्थतन्त्रमा परेको गुनासो गरे ।
कार्यक्रममा कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाही, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहित मन्सारी लगायतले यस क्षेत्रको उद्योगी व्यवसायीको समस्या औंल्याउँदै खुला सीमानाका कारण बजार चलायमान हुन नसकेको बताए । कर्णाली आफैमा स्रोत साधन र सम्पदाले समृद्ध भए पनि यसलाई सरकारले पछि पारेको गुनासो गरे ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाहले संघले अधिकार नदिँदा उद्योग व्यवसायीको समस्या समाधान गर्न नसकिएको बताए । उनले समृद्धिका कुरा मात्रै गर्ने तर बलियो अर्थनीति निर्माण गर्न नसक्दा अर्थतन्त्र झन् झन् अप्ठ्यारोमा पर्दै गएको बताए ।
यसैगरी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, अर्थविद एवम् पूर्व गर्भनर चिरञ्जीवी नेपालले वर्तमान अर्थतन्त्रको अवस्थाबारे औंल्याउँदै निजी क्षेत्रको लगानी वृद्धिका लागि सरकारले सही नीति र सहज प्याकेज ल्याउनुपर्ने धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रमको सहजकर्ताको भूमिकामा रहेका नेपाल उद्योग वाणिज्य महासंघको पूर्व वरिष्ठ उपाध्यक्ष एवं एभिन्यूज खबर टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्कर राज राजकर्णिकारले वैंकहरुमा पैसा जम्मा हुदा पनि त्यसको सही ठाउँमा लगानी हुन नसकेको भन्दै सातवटै प्रदेशबाट उठेका गुनासोहरुको प्रतिवेदन बनाइ केन्द्रमा बहस गर्ने बताए ।
कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । अर्को अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशको भैरहवामा पौष ९ गते, बागमती प्रदेशको चितवनमा पौष ११ गते, मधेश प्रदेशको बीरगंजमा पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते हुनेछ । सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुक पेजमा पनि प्रत्यक्ष रुपमा प्रसारण हुनेछ ।
प्रतिक्रिया