पूर्वसभामुख एवम् एमाले नेता स्वर्गिय नेम्वाङको पार्थिब शरीर पार्टी कार्यालय च्यासलमा, प्रधानमन्त्रीसहित दलका शीर्ष नेताद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । च्यासल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन । पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि च्यासल पुगेर नेम्वाङको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । एमालेका नेताहरुसहित ठूलो संख्यामा कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर भोलिसम्म पार्टी कार्यालयमा राखिने बताइएको छ । नेम्वाङको अन्तिम संस्कार दुई छोरा विदेशवाट आएपछि गरिने भएको छ । दिवंगत नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि चार बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर नेम्वाङको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले नेम्वाङको निधनबाट आफूहरु मर्माहत भएको बताएका छन् ।
प्रतिक्रिया