पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान

काठमाडौं । तीन साता देखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत प्रस्थान गरेका छन् ।

नेपालगञ्ज स्थित सोल्टी होटलमा बसेका पूर्वराजा शाह आज (आइतबार) बिहान ११ बजे भारतको लखनउ प्रस्थान गरेका हुन् । पूर्वराजा शाह लखनउमा दश दिन बस्ने तालिका रहेको छ ।

लखनउमा रहदा पूर्वराजाले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलगायत सँग भेट गर्ने बताइएको छ । प्रत्येक वर्ष जसो नेपालगन्जमा एक महिनाबढी बसाई गर्ने पूर्वराजाले यही बाट भारतको भ्रमण गर्ने गरेका छन् ।

पूर्वराजाको भारतीय नेताहरु सँगको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । मंसिर १७ गते नेपालगन्ज आएका पूर्वराजाले बाँकेको नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर, राप्तीसोनारीमा रहेको भुवनभवानी मन्दिरको दर्शन गर्नुका साथै बर्दिया र दाङको भ्रमण गरेका थिए । यो बीचमा पूर्वराजा सँग काठमाडौं बाट आएर पूर्वमन्त्री केशरबहादुर विष्ट र उनका छोरा विराज विष्ट, रा.प्र.पा.का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राजेन्द्र गुरुङ लगायतले भेट गरेका थिए । 

नेपालगञ्ज बसाइमा रहदा पूर्वराजा सँग यहाँका राजावादी तथा हिन्दुवादी नेताहरुले पनि भेट गर्ने गरेका थिए । भेटमा सबै जसोले राजाबादी र हिन्दुवादी एक भएर अहिले देखिएका विकृति, विसंगतिलाई रोक्नु पर्ने र सबै राजावादी र हिन्दुवादीलाई एक ढिक्का गराउन पूर्वराजाले सक्रियता देखाउनु पर्ने बताएका थिए । 

प्रतिक्रिया