एन.पि.एल. को उपाधि विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री आलीको सम्मान
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रिमियर लिग (एन.पि.एल.)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापक लगायतलाई बधाई सहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज(आइतबार) भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन् ।
शनिबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे ।
“यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगिता मार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ”, प्रधानमन्त्री ओलीले भने, “आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।”
आफू प्रधानमन्त्री भएपछि कीर्तिपुर स्थित क्रिकेट मैदानको स्तरोन्नति सम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्र्दै उनले यसका लागि बोलपत्र आह्वान भइसकेको बताए । उनले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताए ।
त्यस अवसरमा नेपाल क्रिकेट सङ्घ र खेल व्यवस्थापकहरुले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृति सम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरे । जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओली सँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी भएको प्रतिक्रिया दिए ।
रासस
प्रतिक्रिया