४ केजी गाँजा र ३ लाख नगद सहित एक युवती पक्राउ
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा ४ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।
बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले शनिबार राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठा बाट ३ केजी गाँजा, नगद ३ लाख ६ हजार ८ सय ७० र भारतीय रुपैयाँ २ हजार ३ सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थल बाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ ।
झापामा लागूऔषध कारोबार गरेको अभियोगमा शनिबार एकै दिन पाँच जना विभिन्न स्थान बाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागूऔषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुल सहित प्रहरीले दमक बाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टा बाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताए ।
रासस
प्रतिक्रिया