रवि लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा रा.स्व.पा. सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछाने सहित पाँच जना विरुद्ध सरकारी वकिल कार्यालयले आज (आइतबार) कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै छ । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने, पूर्व डी.आई.जी. एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ विरुद्ध आज मुद्दा दर्ता हुन लागेको हो । 

यसअघि गत शुक्रबार १९ जना प्रतिवादी सँग थप बिगो माग दाबी सहित कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको थियो । प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएपछि शुक्रबार लामिछाने लगायत पाँच जनाको अभियोजन दर्ता भएको थिएन । 

लामिछाने सहित पाँच जनालाई गत पुस २ गते अदालतले अन्तिम पटक थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जसको समयसीमा शुक्रबार नै सकिएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राई सहित १९ प्रतिवादी विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सोही मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार नै उनीहरू विरुद्ध थप बिगो माग दाबी सहित पूरक अभियोग दर्ता गरेको हो । 

गत असोज १८ गते एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएकोमा अहिले थपेर एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ कायम गरिएको छ । १९ मध्ये १६ जनालाई सहकारी ठगीका साथै संगठित अपराध र बिगो सम्बन्धी मुद्दा थपिएको छ भने जीबी राईका हकमा सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अनुसारको दफा थप सहित पूरक अभियोग दर्ता भएको छ ।

रवि सहित पाँच जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने राय सहित प्रहरीले पुस १ गते अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । सो प्रतिवेदन अनुसार ५१ जना प्रतिवादी बाट एक अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ ।

प्रतिक्रिया