मुग्लिन–काठमाडौं सडक आज देखि दैनिक ३ घण्टा बन्द हुने

चितवन । मुग्लिन–काठमाडौं सडक आज देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । 

स्तरोन्नति सहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्ती लगायत केही स्थानमा  कटान गर्नुपर्ने भएकाले आज देखि यही पुस १३ गते सम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजे सम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।
 
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । 

यसैगरी चितवन तर्फ बाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिन बाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ । 
रासस 

प्रतिक्रिया