परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् । महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल भने यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका हुन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर आउन लागेका दाहालको टोलीमा अब ११ जना हुनेछन् । प्रधानमन्त्री दाहाल स्वयंले भ्रमण दल ठूलो भयो भनेपछि यसअघि २६ जनाको टोली न्युयोर्क आउने तय गरिएकोमा अब ११ जनामा झारिएको हो । अब नेपालबाट ११ जना तथा अमेरिकामा रहेको न्यूयोर्कस्थित नेपाली स्थायी नियोग र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट १४ गरि ३० जनाले महासभामा सहभागिता जनाउने छन् ।  नेपालबाट उच्च तहमै यसपटक संयुक्त राष्ट्रसंघ ७८ औं महासभामा प्रतिनिधित्व हुने भएपछि पूर्वतयारीका लागि साउद छिट्टै न्युयोर्क गएका हुन । न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ ।  नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सहभागिता जनाएका थिए । नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ ।

प्रतिक्रिया