पशुपालन बाट मासिक एक लाख आम्दानी

बागलुङ ।  यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए । मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन शुरु चार वर्ष भएको छ । 

शुरुमा चार वटा गाई र दुई वटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका  उनले शुरुका दुई वर्ष सम्म पशुलाई दाना, चापट र घाँस समेत ऋण खोजेर किने । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ सँग जोडिए पछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधान सँगै आम्दानी गर्न थालेका छन् । 

उनको फार्ममा हाल पाँच वटा भैँसी र चार वटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारी मार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन् । ढकालको फार्ममा हुर्कँदै गरेका चार वटा पाडी छन् । 

दूध बेचेर मासिक एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए । गत वर्ष मात्र १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए । दूधमात्र नभएर ढकालको फार्म बाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेका छन् । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालन बाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन् । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डि.सी.आर.डि.सी.) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ । 

पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छन् । परिवारको साथ सँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थाले पछि  व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउछन् । 

रासस 

प्रतिक्रिया