एन्फा अध्यक्ष नेम्वाङविरुद्ध बहुमत सदस्यद्वारा अविश्वासको प्रस्ताव दर्ता
अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग
अखिल नेपाल फुटबल संघ एन्फाको इतिहासमा पहिलो पटक अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको हो । एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित अविश्वास दर्ता भएको हो । एन्फा विधानमा ४० प्रतिशत सदस्यले विशेष साधारण सभा बोलाउन लिखित रुपमा माग गरेमा कार्यसमितिले ३० दिनभित्र विशेष साधारण सभा बैठक आहवान गर्नुपर्ने उल्लेख छ । विधानले साधारण सभालाई अध्यक्ष, उपाध्यक्ष, महसाचिव, सदस्य सहितलाई बर्खास्त गर्ने अधिकार दिएको छ । अविश्वासको प्रस्ताव दर्दा हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाइएको शेर्पा समूहले जनाएको छ । डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए । क्लबहरुहको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनु परेको शेर्पाले बताएका छन । विधिविधानको धज्जी उडाउँदै अगाडि बढ्न खोजेकाले अविश्वास ल्याउनुपरेको असन्तुष्ट पक्षको भनाइ छ ।
प्रतिक्रिया