प्रधानमन्त्री दाहालद्वारा श्रम गन्तव्य मुलुकका नेपाली राजदूतसँग छलफल

श्रम गन्तव्यलाई सुरक्षित र तस्करी रोक्न प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशस्थित नेपाली राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गरेका छन । वैदेशिक रोजगारीमा देखिएका समस्याबारे प्रधानमन्त्री  तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको हो । बैठकमा युरोपेली देशमा रहेका राजदूतावासबाट श्रमिकको मागपत्र प्रमाणीकरण, विदेशी जेलमा रहेका श्रमिकहरुको कानुनी उपचार, खाडी मुलुकमा घरेलु श्रमिक पठाउने जस्ता विषयमा संयुक्त छलफल भएको छ । श्रम आप्रवासनका सवालहरु र कुटनीतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न प्रधानमन्त्री दाहालले नेपालका श्रम गन्तव्य मुलुकका नेपाली राजदूत र नियोग प्रमुखहरुसँग दुई दिन छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेशमा कानुनी हैसियत प्राप्त गर्न नसकेका श्रमिकलाई वैधानिक बनाउने विषयमा पनि छलफल हुँदै छ । त्यस्ता श्रमिकको श्रम स्वीकृति नवीकरण गर्नेदेखि नेपालको सामाजिक सुरक्षा कोशमा आवद्धता गराउने विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । युरोपेली मुलुकबाट आउने श्रमिकको कोटा गुम्न नदिन नेपालबाटै मागपत्र प्रमाणीकरणको विषयमा पनि छलफल हुने छ । मागपत्र प्रमाणीकरण नहुँदा नेपाली युवा अवैध मार्गबाट रोजगारीका लागि विभिन्न युरोपेली मुलुक जाने गरेका छन् । छलफलमा खाडी र मलेसियाका राजदूत र श्रम सहचारी सहभागी छन । छलफलमा केही युरोपेली मुलुकमा रहेका राजदूतलाई पनि बोलाइएको छ ।। 
 

प्रतिक्रिया