हिउँदे बालीका लागि रासायनिक मल अभाव

काठमाडौं । देशका विभिन्न जिल्लामा हिउँदे बालीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । 

मधेश र अन्य प्रदेशका केही जिल्लामा किसानले गहुँबालीका लागि मल पाउन सकेका छैनन् । सरकारले मौज्दातको परिमाण सँगै थप आयात गर्ने प्रकृया पनि जारी रहेकाले मल अभाव हुन नदिने बताए पनि किसान समस्या झेल्न बाध्य  छन् । 

संघीय सरकारले प्रत्येक प्रदेशलाई कोटा तोकेर अनुदानको रासायनिक मल वितरण गर्दै आएको छ । तर, पहाडमा बढीमा दुई बाली लाग्दा धेरै बाली लाग्ने तराईमा निर्धारित कोटाको मलले धान्न नसके पछि समस्या भएको कृषि मन्त्रालयले अनुदान वितरण सम्बन्धी मापदण्ड परिमार्जनको तयारी गरेको छ । 

संघले कोटा अनुसार पठाए पछि प्रदेश सरकार बाट स्थानीय तह मार्फत वडा कार्यालय, कृषि सहकारीहरूले किसानलाई मल वितरण गर्ने व्यवस्था छ । तर, लामो प्रक्रियाका कारण मल वितरण प्रणालीमा पारदर्शिता नहुँदा किसानले अभाव खेप्दै आएका छन् । 

सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ मा पाँच लाख ५० हजार मेट्रिक टन अनुदानको रासायनिक मल आयात गर्ने लक्ष्य अनुसार २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार, गत साउन देखि हाल सम्म युरिया, डी.ए.पी. र पोटास गरी कुल २ लाख १० हजार मेट्रिक टन मल आयात भइसकेको छ । 

गत आर्थिक वर्षको मौज्दात समेत गरी २ लाख २० हजार मेट्रिक टन मल बिक्री भइसकेको छ । हाल सरकार सँग करिब ९३ हजार मेट्रिक टन मल मौज्दात छ ।
 

प्रतिक्रिया