भारतीय संसद भवन परिसरमा सांसद बीच झडप

एजेन्सी । भारतीय संसद् भवन परिसरमा सांसदहरु बीच झडप भएको छ । 

सत्तारुढ र विपक्षी गठबन्धन बीच झडप हुँदा भारतीय जनता पार्टी (भा.ज.पा.) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भा.ज.पा.ले जनाएको छ । भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भा.ज.पा. सांसदहरूले आफुलाई संसद्मा प्रवेश गर्न बाट रोकेको र धकेलेको आरोप लगाएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ । भा.ज.पा. नेता तथा संघीय सरकारका गृह मन्त्री अमित शाहले बाबासाहेब अम्बेडकर विरुद्ध गरेको अपमान जनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेता बीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो । 

भा.ज.पा. का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गरेका छन् । घटनापश्चात भा.ज.पा. सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको छ ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारङ्गी र राजपुतलाई फोन गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया